म्याग्दे–५ मा महिलाका लागि तीनदिने नेतृत्व विकास तथा सामाजिक सञ्जालसम्बन्धी तालिम सम्पन्न

म्याग्दे–५ मा महिलाका लागि तीनदिने नेतृत्व विकास तथा सामाजिक सञ्जालसम्बन्धी तालिम सम्पन्न


तनहुँ, असार १६ – म्याग्दे गाउँपालिका–५ वडा कार्यालयको सहयोग तथा परिवर्तनका लागि मिडियाको आयोजनामा सञ्चालित महिलाहरूका लागि तीनदिने ‘नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा बजार प्रवर्द्धनमा सामाजिक सञ्जालको भूमिका’ विषयक तालिम सम्पन्न भएको छ।
समापन कार्यक्रम वडा अध्यक्ष शिवबहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, वडा नं. ४ का अध्यक्ष दीपककुमार श्रेष्ठ, वडा सदस्य तथा गाउँ कार्यपालिका सदस्य चिनूमाया थापालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथि उपाध्यक्ष घिमिरेले महिलाहरूको नेतृत्व क्षमता, उद्यमशीलता तथा डिजिटल सीप विकासका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सामाजिक सञ्जालको सही प्रयोगमार्फत स्थानीय उत्पादनको बजारीकरण, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी तथा कार्यपालिका सदस्य चिनूमाया थापाले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतारेर व्यक्तिगत, पारिवारिक तथा सामुदायिक विकासमा उपयोग गर्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो। उहाँहरूले यस्ता तालिमले महिलाहरूको आत्मविश्वास अभिवृद्धि हुनुका साथै नेतृत्वदायी भूमिका निर्वाह गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
तीन दिनसम्म सञ्चालन भएको तालिममा नेतृत्व विकास, क्षमता अभिवृद्धि, व्यक्तित्व विकास, सञ्चार तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, स्थानीय उत्पादनको बजारीकरण तथा डिजिटल माध्यमबाट व्यवसाय प्रवर्द्धनलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमका मुख्य प्रशिक्षक पूर्ण बिके रहनुभएको थियो।
समापन कार्यक्रममा सहभागीहरूको तर्फबाट आशिका अर्याल, शारदा उपरकोटी र मिरा श्रेष्ठले आफ्नो अनुभव साझा गर्दै तालिमले आफूहरूमा नयाँ ज्ञान, आत्मविश्वास र सीप विकास भएको धारणा व्यक्त गर्नुभयो।


तालिममा वडा सदस्य सविता विक, वडा सचिव विमला गैरे, पत्रकार विकास खनाललगायतको सहभागिता रहेको थियो। वडाभित्रका विभिन्न टोलका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको उक्त तालिम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page