जनप्रेमी माविको कक्षा ११ परीक्षामा अनियमितताको आरोप, विद्यालय व्यवस्थापन समितिका अध्यक्षकै नतिजामाथि प्रश्न


तनहुँ, असार १८ – शुक्लागण्डकी नगरपालिका–१२, लामागाउँ (फिर्फिरे)स्थित श्री जनप्रेमी माध्यमिक विद्यालयको कक्षा ११ को वार्षिक परीक्षामा अनियमितता भएको आरोप लागेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किरण शाहीकै परीक्षाको नतिजालाई लिएर विवाद उत्पन्न भएको हो।
प्राप्त जानकारीअनुसार कक्षा ११ को वार्षिक परीक्षा जेठ ४ गते सम्पन्न भएको थियो भने जेठ १२ गते नतिजा सार्वजनिक गरिएको थियो। विद्यालयका एक शिक्षकका अनुसार प्रधानाध्यापकले उत्तरपुस्तिकामा “खाली नम्बर राख्नु, नम्बर म राख्छु” भन्दै निर्देशन दिएको दाबी गरिएको छ।
आरोपअनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साही स्वयं कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन्। उनले सबै विषयको परीक्षा नदिई तीन दिन मात्र परीक्षामा सहभागी भएको र हाजिरी रजिस्टरमा पनि तीन दिनको मात्र उपस्थिति रहेको दाबी गरिएको छ। तर सार्वजनिक नतिजामा भने सबै विषयको प्राप्ताङ्क उल्लेख भएको भन्दै प्रश्न उठाइएको छ।
विद्यालयभित्र यस विषयमा चर्चा सुरु भएपछि सम्बन्धित विद्यार्थीका लागि पछि ‘मौका परीक्षा’ लिइएको बताइएको छ। तर उक्त मौका परीक्षा कहिले, कुन निर्णयका आधारमा र कुन कानुनी व्यवस्थाअनुसार सञ्चालन गरिएको हो भन्नेबारे विद्यालयले हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
प्राप्त कागजातमा परीक्षा हाजिरी, नतिजा विवरण तथा शिक्षा ऐनअनुसार परीक्षाफलमा अनियमितता गर्नेलाई कारबाहीको व्यवस्था रहेको उल्लेख गरिएको छ। स्थानीयले हाजिरी विवरण, प्राप्ताङ्क सूची, उत्तरपुस्तिका तथा मौका परीक्षासम्बन्धी सम्पूर्ण अभिलेख सार्वजनिक गर्दै निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। घटनामा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबीच मिलेमतो भएको आशंकासमेत व्यक्त गरिएको छ।
यस विषयमा प्रधानाध्यापक प्रकाश राइभाटसँग सम्पर्क गर्दा उनले विद्यार्थीको परीक्षा छुटेको अवस्थामा पछि परीक्षा दिन मिल्ने बताए। “उहाँ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भए पनि विद्यालयमा पढ्ने विद्यार्थी भएकाले सबै विद्यार्थी समान हुन्,” उनले प्रतिक्रिया दिए। स्थानीय तहका शिक्षा अधिकारीलाई जानकारी गराइएको हो वा होइन भन्ने प्रश्नमा उनले, “यो विद्यालयको आन्तरिक परीक्षा भएकाले जानकारी गराउनुपर्ने व्यवस्था छैन,” भन्ने जवाफ दिए।
यता शुक्लागण्डकी नगरपालिका शिक्षा अधिकारी नवराज चापागाईंसँग सम्पर्क गर्दा उनले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

यससम्बन्धी थप बुझ्नकाे लागि परिक्षा समिति संयाेजक चन्द्रप्रकाश केसी सँग टेलिफोन सम्पर्क गर्दा उहाँ किरण शाहीले सुरुमा केही बिषयमा परिक्षा दिनुभएको र पछि अरू बिषय छुट्न जाँदा छुट परिक्षा दिन पाउँ भनी निवेदन दिनुभएकोले बिद्यालयले निर्णय गरेर पुन परिक्षा लिइएको बताए । उनलेे याे दावी गरेपनि बिद्यालयमा परिक्षा दिनपाउँ भनेर कुनै निवेदन दर्ता नभएको स्राेतले बताएको छ ।


























