डस्टबिनमा नवजात शिशुको शव फाल्ने दुई जना पक्राउ
फाेहाेर फाल्नकाे लागि राखिएको डस्टबिनमा नवजात शिशुको शव फालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बिहीबार बिहान डस्टबिनभित्र शिशुको शव फेला परेपछि प्रहरीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धानलाई तीव्र बनाएको थियो। घटनाको छानबिन क्रममा बिहीबार राति १७ वर्षीया किशोरी र १८ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी दिपेश बस्यालले जानकारी दिए।

प्रहरीका अनुसार, मृत शिशुको जन्म ५/६ दिनअघि भएको मेडिकल रिपोर्टले देखाएको छ। पक्राउ परेकी किशोरीले शिशु आफूले फालेको स्वीकार गरेकी छन्। उनका अनुसार, बच्चा जन्मिएपछि रुन थालेको थियो। उनले मुख थुन्दा शिशुको मृत्यु भएको बयान प्रहरीलाई दिएकी छन्।
अनुसन्धानका क्रममा ती किशोरी अर्घाखाँचीको शितगंगा नगरपालिकाकी भएको र उनी आफन्तसँग प्यूठानमा बस्दै आएकी थिइन्। उनका बुवाको निधन भइसकेको छ भने आमा रोजगारीका लागि दुबईमा छन्। किशोरीले आफू तीन महिनासम्म मोटाएको जस्तो लागेको र गर्भावस्थाबारे थाहा नभएको बताएकी छन्।
प्रहरीले किशोरीको बयानका आधारमा थप अनुसन्धान गर्दै १८ वर्षीय किशोरलाई समेत नियन्त्रणमा लिएको छ। ती किशोर सरुमारानी गाउँपालिकाकै निवासी रहेको खुलेको छ।
किशोरीको स्वास्थ्य अवस्था कमजोर रहेकाले सालनाल नझरेकाले उनलाई अहिले जिल्ला अस्पताल बिजुवारमा भर्ना गरिएको छ।
























