प्रमुख प्रशासकीय अधिकृत साहमाथी कार्यकक्षमै कुटपिट

प्रमुख प्रशासकीय अधिकृत साहमाथी कार्यकक्षमै कुटपिट

धनुषाको विदेहनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ई. दीपेन्द्रकुमार साहमाथि कार्यकक्षमै कुटपिट भएको छ । मेयर बेचन दासका छोरा रामभजन दासले सोमबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत साहमाथि कुटपिट गरेका हुन् ।

घटनापछि प्रमुख प्रशासकीय अधिकृत साहले शान्तिसुरक्षा माग्दै प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिएका छन् । मेयर दासले समेत प्रहरीको उपस्थितिमा आफूलाई गोली हान्ने धम्की दिएको भन्दै प्रशासकीय अधिकृतले कुटपिट गर्ने तथा धम्की दिने मेयर र उनका छोरालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै निवेदन दिएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृतका अनुसार, शिक्षा सेवा आयोगबाट सिफारिस भएकी नि.मा.वि. सामाजिक शिक्षिका पवन कुमारीलाई हाजिर गराउँदा मेयरका छोरा रामभजन दास असन्तुष्ट बनेका थिए।

सोमबार सोही विषयलाई लिएर रामभजनले गालीगलौज, धाकधम्की तथा कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृतको गुनासो छ । ‘यस घटनाबारे धनुषा प्रहरी प्रमुखलाई जानकारी गराएको तर प्रहरी, विदेह नगरपालिका–०७ का वडाध्यक्ष लगायतकै उपस्थितिमा मंगलबार बिहान साढे ११ बजे मेयर दासले गाली गर्दै मलाई गोली हान्‍ने धम्की दिएकाे उनलेे बताएका छन् ।

मेयर बेचन दासले भने आफूले कसैलाई धम्की नदिएको बताएका छन् । बरू प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाको प्रशासनिक काममा अटेरी गरेर जनतालाई दुःख दिइरहेको उनको भनाइ छ ।

मेयर दासले ‘मैले गोली हान्‍ने सरासर झुठ कुरा हो भन्दै मैले नै प्रमुख प्रशासकीय अधिकृत बनाएको व्यक्तिलाई त्यस्तो नभन्ने बताए । अहिले नगरपालिकामा जनतालाई तर्साउने, गाली गलौज गर्ने र वृद्धवृद्धाको भत्ता पनि समयमा नपठाउने गरेर जनतालाई दुःख दिएकाे गुनासो बढेको भने उनलेे सुनाए ।

मेयर दासले जनप्रतिनिधि भएकाले आफूले जनताको काम गर्नुपर्ने तर कर्मचारीले अटेर गर्दा हैरान हुने गरेको गुनासो गरे । प्रमुख प्रशासकीय अधिकृत भएर कुनै पनि काम समयमा गर्नुभएको छैन । जनतालाई तर्साउने काम मात्र गरिरहनुभएको छ। जनताले मलाई दिनदिनै फोन गरेर गुनासो गरिरहेका छन् । त्यसैले मैले सम्झाउने गरेको हुँ । उहाँ उल्टै रिसाउनुहुन्छ।’

इन्जिनियर सातौं तहका अधिकृत साह गत २ माघमा राष्ट्रिय सतर्कता केन्द्रबाट विदेह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page