व्यास नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजी

व्यास नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको खोजी

व्यास नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तनबारे चर्चा चुलिएको छ। जनप्रतिनिधि र प्रशासनबीच देखिएको मनमुटावका कारण हालका अधिकृत काशीराम गैरे अफ्ट्यारोमा परेको स्रोतहरूले जनाएका छन्। नगरपालिकामा मादी नदी घाट, ल्याण्डफिल साइट, र जग्गा खरिद प्रक्रियामा देखिएको असहमतिले विवादलाई बल पुर्‍याएको हो। त्यसाेत मादी नदि घाटमा मनलाग्दी भएको भन्दै ट्याक्टर व्यवसायीकाे एक हुल प्रमुख प्रशासकीयकै कार्यकक्ष घेर्न समेत आएका थिए ।

नगरप्रमुख बैकुण्ठ न्यौपाने एमालेका एक वडाध्यक्षलाई लिएर संघीय मामिला मन्त्री भेट्न गएको खबर बाहिरिएको छ। चासोको विषय के छ भने कांग्रेस सांसद शंकर भण्डारीले अधिकृत गैरेको सरुवा रोक्न भूमिका खेलेको चर्चा छ।

यसैबीच, प्रमुख प्रशासकीय अधिकृत गैरेले निकटस्थहरूसँग अब एक महिनाभन्दा बढी नगरपालिकामा नरहने संकेत गरेका छन्। सम्भावित उत्तराधिकारीका रूपमा पूर्व प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी र शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेको नाम चर्चामा छ। तर, सुवेदीले हालसम्म कसैले सम्पर्क नगरेको बताउँदा लामगादेले जिल्ला भित्रै स्थानान्तरणबारे अहिले सोच नभएको प्रतिक्रिया दिएका छन्।

नगरप्रमुख न्यौपाने हाल विदेश भ्रमणमा रहेका कारण, उनको स्वदेश फिर्तीपश्चात् मात्र यस विषयले थप स्पष्टता पाउने बताइएको छ। प्रमुख प्रशासकीय अधिकृतको परिवर्तनबारे चर्किएको बहसबीच, एकजना पूर्व प्रमुख प्रशासकीय अधिकृतले महत्वपूर्ण टिप्पणी गरेका छन्। उनका अनुसार, व्यास नगरपालिकामा प्रशासनिक नेतृत्व सम्हालिसकेका अधिकृतहरू दोहोरिएर फर्कन चाहँदैनन्।

“यहाँको वातावरण, जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध तथा प्रशासनिक हस्तक्षेपको स्तर हेर्दा धेरै हाकिमहरू फर्केर आउन इच्छुक छैनन्,” ती पूर्व अधिकृतले भने। अबको केही दिनमै व्यास नगरपालिकाको प्रशासनिक नेतृत्व कुन मोडमा पुग्छ भन्ने कुराले व्यापक चासो पाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page