एक लाख बढिले चढे बन्दीपुर केवलकार
२०८० जेठ ३१ गतेदेखि व्यवसायिक रूपमा सुरु बन्दीपुर केवलकार सञ्चालनमा आएकाे नौ महिना पूरा भएको छ । नाै महिनाको अवधि फागुन मसान्तसम्म १ लाखभन्दा बढी पर्यटक तथा स्थानीयले केवलकार चढेको बताइएको छ । जसमा १८ हजारभन्दा बढी विदेशी पर्यटक रहेको कम्पनीले जनाएको छ। तनहुँको पर्यटकीय ठाउँ बन्दीपुरसम्म सहज पहुँच पुर्याउने उद्देश्यले केवलकार सञ्चालनमा ल्याइएको हो ।

बन्दीपुरहिल गुरुयोजनाको एक भागका रूपमा केवलकार र ड्राइभ-इन ब्रान्डको रेस्टुरेन्ट मात्र हाल औपचारिक रूपमा सञ्चालन भइरहेका छन् ।

कम्पनीका अनुसार गुरुयोजनाको हालसम्म करिब १२.५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। उक्त गुरुयोजनाअन्तर्गत पाँचतारे होटल, कुईन टावर, माईति ईमाङ्ग (मगर समुदायको परम्परागत खानाका लागि विशेष बजार), १,००० सिट क्षमताको सम्मेलन केन्द्र, ९७ मिटर लामो क्यान्टिलिभर वाक थ्रु, स्काई डेक, मेटल क्लाइम्बिङ, एज वाक, क्याप्सुल लिफ्ट, भ्यु रुम, स्काई रेस्टुरेन्ट, फ्लाइ डाइनिङ, सोप स्विङ, मेकानिकल स्विङ, २,८०० मिटर लामो मेगाट्रेल जिपलाइन, १,१०० मिटर लामो बन्दीपुर-सिद्ध गुफा चियरलिफ्ट, स्काई साइकलिङ, रोप जम्प, बन्जी जम्प, डिपार्टमेन्टल रेस्टुरेन्ट, १०८ फिटको आदियोगी शिवत्व पार्क, स्वयम्भुनाथ पार्क, स्विमिङ पुल, हेल्थ क्लब, किड्स जोन, धार्मिक पार्क, जङ्गली म्युजियम लगायतका पूर्वाधार निर्माण गर्ने योजना छ।
कम्पनीले गुरुयोजनाको कुल लागत ६ अर्ब २९ करोड रुपैयाँ अनुमान गरेको छ। महाप्रबन्धक रोमनमान श्रेष्ठका अनुसार २०८३ सालभित्र सबै पूर्वाधार निर्माण कार्य पूरा गरी व्यवसायिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बन्दीपुरको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्दै बाह्य लगानी भित्र्याउने उद्देश्यले गुरुयोजना अघि बढाइएको बताएका छन्।
बन्दीपुर घुम्न आउने पर्यटकहरूलाई थप आकर्षण दिन बटम स्टेशन विशेष रूपमा निर्माण गरिएको छ, जहाँ पर्यटकहरूले रमाइलो अनुभव लिएको प्रतिक्रिया दिएका छन्। हस्पिटालिटी महाप्रबन्धक राजेश फुयालका अनुसार स्थानीय मगर समुदायको खानपान र संस्कृति प्रवर्द्धन गर्न आगामी २०८१ बैशाख १ गतेदेखि “माईति ईमाङ्ग” सञ्चालनमा ल्याइनेछ।
बन्दीपुरहिल गुरुयोजना अन्तर्गत बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेड, बन्दीपुर स्काईवाक एण्ड रिक्रिएसन प्रा.लि., बन्दीपुर ब्याङ्क्वेट एण्ड इभेन्ट्स प्रा.लि. र सिद्धगुफा रोपवेज प्रा.लि. सहितका कम्पनीहरू संलग्न छन्। कम्पनीका अनुसार गुरुयोजना सम्पन्न भएपछि बन्दीपुर नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास लिइएको छ।
























