महिला उद्यमी संघ नेपाल तनहुँको चौथो साधारण सभा एवम् दोस्रो अधिवेशन सम्पन्न

महिला उद्यमी संघ नेपाल तनहुँको चौथो साधारण सभा एवम् दोस्रो अधिवेशन बुधबार दमौलीमा सम्पन्न भएको छ। कार्यक्रमको व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै तनहुँ महिला सशक्तीकरणमा अझै पनि कमजोर रहेको उल्लेख गर्दै अझै सशक्तीकरणको क्षेत्रमा काम गर्न आवश्यक रहेको बताए। भइरहेको उद्यमशिला मात्र भन्दापनि अबको समयमा नयाँ पुस्ताको माग र अपेक्षा अनुसार उधमशिला अघि बढाउनुपर्नेमा उनले जोड दिए। उनले भने, “अब आशीर्वादले चल्ने दिन सकिए, जो दक्ष छ , क्रियाशिल छ, इमानदार छ, उ मात्र अघि बढ्छ, अरु पछि पर्छ।” साथै संघले सबै क्षेत्रमा गरिरहेका उद्यमी महिलाहरू समेटिएको भन्दै खुसी समेत व्यक्त गरे।

कार्यक्रममा व्यास–२ का वडा अध्यक्ष काशीराम श्रेष्ठले महिला उद्यमीको उत्कृष्ट कार्य सम्पादनले गौरवान्वित बनाएको बताए।

महिला उद्यमी महासंघ नेपालकी केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश संयोजक पार्वती पौडेल रेम्मीले महिलाहरूको अथक परिश्रमले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान गर्न सफल भएको बताइन्। साथै उनलेे उद्यमशिलता विकास र प्रवर्द्धनमा स्थानीय सरकारले खेलेको भूमिकाको प्रशंसा व्यक्त गरेकी थिइन् ।अहिलेसम्म देशभरका ७२ जिल्लामा महिला उद्यमी संघको दर्ता भइसकेको पाैडेलले बताइन् ।
कार्यक्रममा महिला उद्यमी संघ नेपाल कास्कीका अध्यक्ष सरु बरालले महिला र पुरुष उद्यमीको समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। साथै उद्यमी सञ्चालन क्रममा व्यहोर्नुपर्ने कानुन प्रक्रिया सहज भए थप प्रोत्साहन मिल्ने बताइन्।
उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्रले सफल महिला उद्यमीहरूको निरन्तर प्रयासले महिला उद्यमी संघ तनहुँले छोटो समयमै नेपालमै उत्कृष्ट हुन सफल भएको भन्दै खुसी व्यक्त गरे।
संघकी अध्यक्ष निर्मला मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, भुजेल महिला समाजकि केन्द्रीय अध्यक्ष बसुन्धरा घर्ती, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी (डिपी), ब्रह्माकुमारी ईश्वरीय विश्व-विद्यालयकी ब्रह्मा कुमारी यमुना लगायतले शुभकामना मन्तव्य राखेका थिए।
त्यस्तै महिला उद्यमी संघको गतिविधिलाई पत्रकारिताको माध्यमबाट प्रचारप्रसार गरेवापत पत्रकार बिकास खनाल, शिला वाग्ले र मनिता पन्थलाई सम्मानित गरिएको छ।
सोही अवसरमा महिला उद्यमी संघ तनहुँको ४ इकाइमध्ये कार्य सम्पादनमा शुक्लागण्डकी इकाइ उत्कृष्ट घोषित भएकोमा सम्मानित गरिएको थियो भने शुक्लागण्डकीस्थित नमुना जलदेबि कृषि समूह र व्यास–१० की मिना नेपालीलाई सफल उद्यमी सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष तुलसी शाहले गरेकी थिइन् भने सञ्चालन महासचिव सरस्वती श्रेष्ठ (सरु) ले गरेकी थिइन्।
यस्तै कार्यक्रममा सचिवको प्रतिवेदन महासचिव श्रेष्ठले प्रस्तुत गरेकी थिइन् भने कोषाध्यक्ष आशा बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
























