दमाैलीमा आजदेखि क्लवस्तरीय क्रिकेट प्रतियोगिता हुने
तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा आजदेखि क्लवस्तरीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। व्यास नगरपालिका–५ स्थित पाटन खेलमैदानमा प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष मदन तिमिल्सिनाले पहिलोपटक तनहुँ जिल्लाका साथै बाह्य जिल्लाका क्लबहरूको सहभागितामा प्रतियोगिता गरिन लागिएको बताए । क्रिकेटप्रति युवाहरूको आकर्षण बढ्दो रहेको अवस्थामा प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए।

असार ९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल नौ क्लब सहभागी हुनेछन्। प्रतियोगितामा विजेता क्लबलाई ७५ हजार रुपैयाँ र उपविजेता क्लबलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।प्रतियोगितामा इस्टर्न क्रिकेट एकेडेमी, बैरेनी क्रिकेट क्लब, दमौली क्रिकेट क्लब, प्रगतिशील क्रिकेट क्लब, महालक्ष्मी क्रिकेट एकेडेमी, हिमालय स्पोर्ट्स एकेडेमी, आरसिबी क्रिकेट एकेडेमी, पेलिसन्स क्रिकेट क्लब र दमौली रिभल्स क्लब सहभागी छन्।

सहभागी टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता र बाँकी टोलीमध्ये उत्कृष्ट रन रेट हासिल गर्ने एक टोली गरी चार टोली सेमिफाइनल चरणमा प्रवेश गर्नेछन्।खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्लेयर अफ द सिरिज, सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर, उदीयमान खेलाडी र हरेक खेलको प्लेयर अफ द म्याच पुरस्कार प्रदान गरिनेछ।
क्रिकेटको माध्यमबाट तनहुँ जिल्लाका युवाको प्रतिभा उजागर गर्ने र खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्रिकेट संघका केन्द्रीय सदस्य सुदीप शर्माले बताए।
























