आँबुखैरेनीमा विद्युतीय सवारी चालकलाई लक्षित जनचेतनामूलक कार्यक्रम सम्पन्न

पछिल्लो समय देशभर विद्युतीय सवारी (EV) साधनहरूको प्रयोग तीव्र गतिमा वृद्धि भइरहेको छ। विशेषगरी राजमार्गहरूमा यी सवारीहरूको संलग्नतासहित हुने दुर्घटनाको संख्या पनि बढ्दो अवस्थामा छ। यसै सन्दर्भमा, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत EV सवारी चालक, सहचालक तथा यात्रुहरूलाई लक्षित गरी सुरक्षा सचेतनामूलक कार्यक्रम गरेको छ।


इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीको कमाण्डमा खटिएको प्रहरी टोलीले सहभागीहरूलाई विद्युतीय सवारीका बारेमा विस्तृत जानकारी दिँदै, पछिल्लो समय देखिएका दुर्घटनाको कारण, न्यूनिकरण उपाय तथा सावधानी अपनाउने विधिहरूमा जोड दिएको थियो।
कार्यक्रममा केन्द्रित प्रमुख विषयवस्तुहरू:
विद्युतीय सवारी साधनको संरचना र प्रविधि
पछिल्लो समय बढेका EV दुर्घटनाका प्रमुख कारणहरू , दुर्घटना न्यूनीकरणका व्यवहारिक उपायहरू , चालक, सहचालक तथा यात्रुले पालना गर्नुपर्ने सावधानी र सतर्कता जस्ता विषयहरू लाई प्राथमिकता दिइएको थियो ।


कार्यक्रममा सहभागी सवारी चालक तथा यात्रुहरूले यस्तो जनचेतनामूलक अभियान उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार, नयाँ प्रविधिमा आधारित EV सवारीहरूलाई सुरक्षित ढंगले सञ्चालन गर्न यस्ता प्रशिक्षण र जानकारी अत्यन्त आवश्यक छन्।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीले आगामी दिनमा यस्ता कार्यक्रमलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ।
























