कर्मचारीकाे सरूवा सम्बन्धि मापदण्ड तत्काल तयार गर्न मन्त्री न्याैपानेकाे निर्देशन

७ साउन, काठमाडौ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना, काज सरुवा सम्बन्धी मापदण्डलाई समयानुकल परिमार्जन गर्न र मन्त्रालयमा कर्मचारीहरुको लागि गुनासो सुनुवाई संयन्त्र निर्माण गर्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएकी छन् । मन्त्रालयका सचिव र सहसचिवहरुसँग मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको सरुवा, पदस्थापना तथा काज सरुवा सम्बन्धि कामलाई निश्पक्ष, पारदर्शी तथा बस्तुगत बनाउनको लागि यस अघि मन्त्रालयले तयार गरेको मापदण्डलाई समयानुकुल परिमार्जन गरि राय सुझाव पेश गर्न निर्देशन दिएकी हुन् । मन्त्री न्यौपानेले उक्त मापदण्ड समयानुकल परिमार्जन गरेपछि मात्रै कर्मचारीहरुको सरुवा सम्बन्धि काम हुने भएकोले जतिसक्दो चाँडो यस सम्बन्धी सुझाव आफुलाई पेश गर्न निर्देशन दिएकी हुन् । साथै विगतमा बनेका मापदण्ड कार्यान्वयन नभएको हुँदा अव उक्त मापदण्डलाई कडाइका साथ अनिवार्य लागु गरिने उनले बताइन् ।

कर्मचारी सरुवालाई पुर्वअनुमानयोग्य बनाउन पनि निर्देशन दिएको उनले बताइन् । यसैगरि मन्त्री निजामती कर्मचारीहरुको गुनासो सुुनुवाईको लागि मन्त्रालयमा छुट्टै गुनासो सुनुवाई संयन्त्र पनि निर्माण गर्ने जनाइएको छ । आफ्नो सचिवालय अन्तर्गत रहने गरि स्थापना हुने उक्त संयन्त्रमा देशभरका कर्मचारीहरुले आफ्ना गुनासाहरु राख्न सक्ने व्यवस्था मिलाइने मन्त्री न्यौपानेले बताइन् ।


























