गाछेपानीकाे च्यवनधाममा आजबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

दुलेगौंडा, १९ साउन
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा सोमवार आजबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सव हुँदैछ । महायज्ञको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि कलशयात्रा निकालिने छ । हरेक वर्ष श्रावण महिनामा हुने धार्मिक महोत्सव यसपटक साउनको १९ गतेदेखि २६ गतेसम्म हुन लागेको हाे । महायज्ञमा मुल संयोजक ठाकुर प्रसाद शास्त्रीले नियमित रुपमा कथा श्रवण गरि लाभ लिन आग्रह गरे । निवर्तमान मुल संयोजक नारायण कुमार श्रेष्ठले धर्म संरक्षण र च्यवनधामको प्रचार प्रसारका साथै विकासको लागि नियमित रुपमा महोत्सव हुदै आएको उल्लेख गरे । च्यवनधामका अध्यक्ष होमनाथ लम्साल अर्जुनको अध्यक्षतामा हुने महायज्ञ सम्पन्न गर्न विभिन्न ४७ उपसमिति गठन गरिएको छ । धार्मिक महोत्सवमा मुख्य कथा वाचकको रुपमा चर्चित कथा वाचक पण्डित इश्वर रेग्मी रहने छन् । च्यवन धाममा शुक्लेश्वर महादेवको मन्दिर साथै १०८ धारा, १०८ शिवलिङ्ग, १०८ पिपल, बौद्ध गुम्बा लगायतका संरचना रहेको छ । धार्मिक महोत्सवमा श्रीमद्भागवत र शिव महिमा पाठ पारायण, सांगितिक कथा र झाँकी सहितको श्रीमद्भागवत कथा प्रवचन, दैनिक हवन, लघु रुद्री, गौमाताको दर्शन, मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, वृहत योग विज्ञान शिविर लगायतका कार्यक्रम समावेश गरिएको बताइएको छ । यस्तै उक्त अवसरमा साँस्कृतिक सहिष्णुतामा च्यवनधामको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता हुने र प्रथम हुनेले १० हजार, द्धितीयले ७ हजार र तृतीयले ५ हजार रुपैया र प्रमाणपत्र पाउने छन । योग शिविर पतञ्जली नगर योग समिति शुक्लागण्डकीसँगको सहकार्यमा साउन २२ देखि २६ गतेसम्म सञ्चालन हुने छ ।

च्यवनधामले २०७२ सालदेखि साउन महिनामा धार्मिक महोत्सव गर्दै आएको छ । महोत्सवबाट बचेको रकमले च्यवनधामसँगै वडा नं ९ स्थित गौं संरक्षण केन्द्रको विकासकोलागि समेत खर्चिदै आएकाे छ ।

























