भिमादमा १ लाख पुरस्कारको लाखे नाच प्रतियोगिता हुने
नेवा: देय दबू गण्डकी प्रदेश समितिको आयोजनामा भदौ १४ गते भिमाद बजारमा खुला लाखे नाच प्रतियोगिता हुने भएको छ । आयोजकका अनुसार प्रतियोगितामा पहिलो पुरस्कार नगद १ लाख १ हजार रुपैयाँ, दोस्रो पुरस्कार ६१ हजार रुपैयाँ र अन्य ८ उत्कृष्ट टोलीलाई जनही १५/१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। गण्डकी प्रदेशभरिबाट करिब ३० टिमको सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगितालाइ सांस्कृतिक समागमको रूपमा हेरिएको छ।

नेवारी परम्परा, कला र संस्कृति जोगाउने उद्धेश्यका साथ आयाेजना भएको प्रतियोगिताले समग्र भिमादकाे पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । प्रतियोगिता सफल बनाउन केही दिन अघि भिमादमा आयाेजित छलफल कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ सहित तीन पालिकाका प्रमुखहरूकाे सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दधिराज सुवेदीले भिमादमा यस्ता सांस्कृतिक कार्यक्रमको आयोजनाले स्थानीय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
उनले नेवार समुदायलाई सांस्कृतिक रूपमा धनी समुदाय भन्दै नेवारी परम्परा र पहिचानलाई संरक्षण गर्न सबै पुस्ता एकजुट हुनुपर्ने धारणा राखे।
त्यसैगरी ऋषिङ्ग गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले लाखे नाच प्रतियोगिताले नेवारी संस्कृति, परम्परा र मौलिकता जगेर्ना गर्न ठूलो योगदान पुर्याउने बताए। उनले नेपाल विविध जातजातिको साझा थलो भएकाले सबै समुदायले आफ्नो भाषा, भेषभूषा र परम्पराको जगेर्ना गर्नुपर्ने उल्लेख गरे।
म्याग्दे गाउँपालिका अध्यक्ष श्री प्रसाद श्रेष्ठले पछिल्लो समय युवा पुस्तामा मौलिक संस्कृतिप्रति चासो घट्दो क्रममा रहेकोमा चिन्ता व्यक्त गर्दै, यस्ता प्रतियोगिताले युवामा चेतना जगाउने माध्यम बन्ने धारणा व्यक्त गरे।
उनीहरूले कार्यक्रमलाई आर्थिक, भौतिक र नैतिक रूपमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए।
बैठकमा गण्डकी प्रदेश समितिका अध्यक्ष मथुरा कृष्ण श्रेष्ठले प्रतियोगिताको इतिहास, कार्यविधि, उपसमिति गठन, सहभागी टोलीहरूको छनोट प्रक्रिया, पुरस्कार र व्यवस्थापनबारे विस्तृत छलफल भएको जानकारी दिए।
























