म्याग्दे गाउँपालिकाले विपन्न वर्गलाई नमुना आवास निर्माण गर्ने
तनहुँको म्याग्दे गाउँपालिकाले चालु आर्थिक वर्षमा आर्थिक रूपमा विपन्न वर्गलाई १२ वटा नमुना आवास निर्माण गर्ने भएको छ । गाउँपालिकाले कुल ६० वटा नमुना आवास निर्माण गर्ने घाेषणा गरेबमोजिम गत आर्थिक वर्षमा ४८ जना विपन्न जनताको घर निर्माण गरेर हस्तान्तरण गरिसकेको र बाँकी १२ वटा घर निर्माण यसै आर्थिक वर्षमा हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

विपन्न नागरिकहरु घर बिहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसको आधारमा घर निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । यसअघि बनेका ४८ वटा नवनिर्मित आवासको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरी हस्तान्तरण गरेका थिए ।

सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा ४८ विपन्नको आवास निर्माण गरी हस्तान्तरण गरिएको र बाँकीको प्रक्रिया अगाडि बढेको र यसैवर्ष हस्तान्तरण गरिने प्रमुख अधिकारीले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजना अन्तर्गत आर्थिक विपन्न वर्गलाई नमुना आवास कार्यक्रम अन्तर्गत आवास निर्माण गरिएको हाे प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।
अधिकारीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ को २५ घर आठ लाख र आर्थिक वर्ष २०८१÷०८२ को २३ घर १० लाखको लागतमा टेन्डर प्रक्रियाबाट निर्माण गरिएको हो । सङ्घको समपुरक कोषको ३८ प्रतिशत र गाउँपालिकाको ६२ प्रतिशत लागतमा आवास निर्माण गरिएको हो । परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएको, दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्नुपर्ने प्रावधान राखिएको गाउँपालिकाले जनाएको छ । अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत जाति, अल्पसंङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिएर गाउँपालिकाकाले काम गरिरहेको छ । जनप्रतिनिधिमा निर्वाचित भएपछि ५ वर्ष भित्रमा कम्तीमा ६० वटा घर बनाउछाैं भन्ने प्रतिवद्धता अनुसार अहिलेसम्म ४८ वटा घर बनेको र बाकी १२ वटाको सातवटै वडाबाट छानिएका लाभग्राहिकाे नामावली हालै सार्वजनिक भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गाउँपालिकाले साँढे ४ करोडकाे लागतमा ७ वटै वडामा घर निर्माण गरेको हाे । उक्त घर दश वर्ष बेच्न , भाडामा लगाउन , धितो राख्न नपाउने गाउँपालिकाले जनाएको छ । वडा नं १ मा १ जना ,वडा नं २ का १ जना , वडा नं ३ का दुईजना , वडा नं ४ का दुई जना , वडा नं ५ का दुई जना , वडा नं ६ का दुई जना र वडा नं ७ का दुई जना यसपटकको छनाेटमा परेका छन् ।
























