मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको काम ८० प्रतिशत सम्पन्न

मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको काम ८० प्रतिशत सम्पन्न

तनहुँमा मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको काम ८० प्रतिशत सम्पन्न भएको छ। चार लेन क्षमताको आर्क डिजाइनमा निर्माण भइरहेको उक्त पुल पृथ्वीराजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक योजनाको महत्त्वपूर्ण संरचना हो।

व्यास नगरपालिका–४ र ५ जोड्ने ३१५ मिटर लम्बाइको पुलको काम अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडक योजना पूर्व खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार पुलको संरचनागत काम लगभग सकिएको र बाँकी भागमा डेक स्ल्याब, रेलिङ र फिनिसिङ कार्य तीव्र गतिमा भइरहेको छ।

सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोड रुपयाँमा ठेक्का सम्झौता भएको उक्त पुल हाल मादी नदीमाथि सञ्चालनमा रहेको दुई लेनको ३७० मिटर लामो पुलभन्दा करिब ५० मिटर पर निर्माण भइरहेको छ। 

निर्माण कम्पनी जेड आइष्ट अन्नक जेभीका साइड इन्चार्ज इन्जिनियर धर्मप्रताप लामगादेका अनुसार काम छिटो सम्पन्न गर्न दैनिक करिब १०० जना कामदार खटाइएका छन्। “पुलको ढाँचा र बनावट पर्यटकका लागि पनि आकर्षक हुने गरी तयार पारिएको छ,” उनले भने ।

पर्यटन प्रवर्धनका दृष्टिले कलात्मक आर्क डिजाइनमा निर्माण भइरहेको यस पुलले व्यास नगरका साथै सम्पूर्ण पृथ्वीराजमार्ग प्रयोगकर्ताका लागि वैकल्पिक र सुविधाजनक आवागमन सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

मुग्लिन–पोखरा सडक आयोजनाको पूर्व खण्डमा हालसम्म ८६ प्रतिशत काम पूरा भएको जानकारी सूचना अधिकारी पाण्डेले दिए । सो सडकको पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपियाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा भएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page