निर्माणाधीन खेलमैदानमा व्यासले महाेत्सव गर्न दिएकाे बिराेधमा युवाहरूले धर्ना दिने
दमौलीस्थित बीपी वनवाटिका खेलमैदानमा महोत्सव आयोजना गर्न नगरपालिकाले स्वीकृति दिएको निर्णयविरुद्ध बसेकाे स्थानीय युवा क्लबकाे भेला दमाैलीमा सम्पन्न भएको छ । शुक्रबार साँझ दमाैलीमा खेलमैदान संरक्षण अभियानमा जुटेका युवाहरूको पहलमा भएको भेलामा व्यास १,२,३,४ का विभिन्न क्लवमा आबद्ध युवाहरूको सहभागीता रहेको थियो । सहभागी युवाहरूले भनेका छन् – हामी महाेत्सवकाे बिराेधि हाेइनाैँ , खेलमैदान बचाउनु पर्छ भन्ने हाम्रो अभियान र माग हाे । वास्केटवल काेर्टमा बसेकाे विभिन्न युवा क्लवका युवाहरूकाे भेलाले व्यास नगरपालिकामा धर्ना सँगै ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् । खेलमैदान खेलकुदका गतिविधि तथा बालबालिकाको मनोरञ्जनका लागि सुरक्षित खुला क्षेत्र भएको भन्दै युवा क्लबले महोत्सव जस्ता भीडभाड र संरचना निर्माण हुने कार्यक्रमले मैदानको संरचना, हरियाली तथा वातावरणमै प्रतिकूल प्रभाव पर्ने बताएका छन्।

युवा क्लबका प्रतिनिधिहरूले खेलमैदानलाई व्यावसायिक प्रयोजनमा प्रयोग गर्नु नगरपालिकाको गलत निर्णय भएको आरोप लगाउँदै तत्काल स्वीकृति फिर्ता लिन माग गरेका छन्।

युवा क्लबका अनुसार—खेलमैदानमा महोत्सव गर्न अनुमति दिनु खेल क्षेत्रको संरक्षण र विकासविरुद्धको कदम हो। मैदानमा ठूलो संरचना राख्दा जमिनको क्षति र सरसफाइ समस्या उत्पन्न हुन सक्छ।
यसैबीच, स्थानीय बासिन्दाहरूले समेत खेलमैदानमा ठूलो कार्यक्रम गर्नुभन्दा वातावरण तथा खेलकुदमैत्री स्थानका रूपमा जोगाउन प्राथमिकता दिनुपर्ने आवाज उठाएका छन्।
निर्माणाधीन मैदानलाई वर्षैपिच्छे ‘अन्तिम पटक’ भनेर महोत्सव गर्न दिंदा ६० लाखभन्दा बढी लगानी गरिएको खेल मैदान तहसनहस हुने तथा यसमा गरिएको लगानी बालुवामा पानी हाले सरह हुने युवाहरूको भनाइ छ। दमाैलीका युवा उज्ज्वल भट्टराईले आइतबार नगरपालिकामा ज्ञापनपत्र बुझाउने तयारी भएको बताए । याे अभियानमा स्थानीय दर्जन भन्दा बढी युवा क्लव , संघसंस्था , स्थानीय लगायतको साथ समर्थन र ऐक्यबद्धता रहेको भट्टराईले जानकारी दिए ।
हैरान्स क्लवका का .अध्यक्ष कृष्णकुमार श्रेष्ठले दमाैलीमा खेलमैदान हुनुपर्ने आफुहरूकाे माग भएको बताए ।
दलका प्रतिनिधि तथा जनप्रतिनिधि कसैले पनि खेलमैदानकाे चिन्ता नलिएको बरू हामीले कहिले महाेत्सव गर्ने भन्ने मात्रै चिन्ता लिएकोले पनि याे समस्या आएकाे युवाहरूले बताएका छन् ।
व्यास नगर कार्यपालिकाको बैठक नं. २२७ ले नेपाल आदिवासी जनजाति जिल्ला समितिलाई मङ्सिर २४ देखि पुस ५ गतेसम्म महोत्सव गर्न दिने निर्णय गरेपछि अहिले त्यसको बिराेधमा खेलप्रेमी युवाहरू एक भएका हुन् । यससँगै मैदानको दीर्घकालीन विकासभन्दा नगरपालिकाले व्यापारिक कार्यक्रमलाई प्राथमिकता दिएको आरोप खुलेर उठेको छ।अघिल्लो वर्ष मात्र १५ लाख खर्चेर गरिएको ट्रेनेज र ग्राउन्ड लेभलिङ अझ सम्हालिन नपाउँदै महोत्सव सञ्चालको लागि फेरि स्टल, खाडल र भारी संरचना निर्माण गरिने भएपछि खेलप्रेमीहरूले नगरको उद्देश्य नै शंकास्पद भएको बताएका छन् । “गत वर्ष पनि अन्तिम भन्दै दिइयो, यस वर्ष पनि अन्तिम पटक भनिँदै छ । अब अन्तिम वास्तवमै कहिले हो ?” सामाजिक सञ्जाल भरी बिराेधका यही र यस्तै प्रश्न आइरहेकाे छ ।
दमौलीमा मेला–महोत्सवका लागि पर्याप्त वैकल्पिक भू–क्षेत्र खेजि नै नगरि निर्माणाधीन खेलमैदानमै निरन्तर दबाब आउने अवस्था नै मुख्य समस्या भएको स्थानीयहरूको आरोप छ। हरेक वर्ष महोत्सवपछि बिग्रिएको मैदान मर्मतका लागि करदाताको पैसाबाट बजेट खर्चिने अवस्था आउनु प्रति नगर नेतृत्व मौन छ। पालिकाले भने ‘महोत्सवबाट उठेको रकम युवाहरुको खेलकुदको विकासमा लगाउने गरि अनुमति दिने निर्णण गरिन्छ ’ भनेर उम्किएको छ । खेलकुद क्षेत्रका प्रतिनिधिहरू बल्ल बल्ल खेल्न लायक जस्तो भएको दमौलीको खेल मैदान वर्षै पिच्छे आयोजना गरिने मेला र महोत्सवलाई दिनु सिङ्गो खेल मैदान नै तहस नहस हुने तथा नगरको खेलकुद गर्ने स्थलको भविष्य नै माटोमा मिल्ने बताएका छन् । यसरी खेलमैदानकाे विकास होइन, राजनीतिक–व्यापारीक दबाबको दोहोरो चेपुवामा पुग्नु बिडम्बनाको बिषय भएको छ।

























