दमौलीका युवा रिमालले खेलमैदान निर्माणका लागि बजेट माग्दै जेन–जी मन्त्री बब्लुलाई भेटे

दमौलीका युवा रिमालले खेलमैदान निर्माणका लागि बजेट माग्दै जेन–जी मन्त्री बब्लुलाई भेटे

दमौलीका युवा रिमालले स्थानीय युवाका लागि व्यवस्थित खेलमैदान निर्माण गर्न बजेटको व्यवस्था गर्न माग गर्दै जेन–जी मन्त्री बब्लु गुप्ता सँग भेटघाट गरेका छन्। राजधानीमा भएको भेटमा रिमालले दमौली क्षेत्रमा खेलकुद पूर्वाधारको गम्भीर अभाव रहेको भन्दै यसले युवालाई खेलकुद तथा सिर्जनात्मक गतिविधिमा संलग्न हुनबाट वञ्चित गरेको उल्लेख गरे।

रिमालले दमौली नगर क्षेत्रमा खुला खेलमैदान नहुँदा फुटबल, क्रिकेटलगायतका खेलहरू सडक, खुला चौर वा जोखिमपूर्ण स्थानमा खेल्न बाध्य हुनुपरेको अवस्था मन्त्रीसमक्ष प्रस्तुत गरेका थिए। उनले खेलमैदान निर्माणले युवालाई खेलकुदमार्फत स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्नुका साथै लागूपदार्थ दुरुपयोग र अन्य नकारात्मक क्रियाकलापबाट टाढा राख्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

भेटका क्रममा मन्त्री बब्लुले युवाको मागलाई गम्भीरतापूर्वक सुन्दै खेलकुद पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरेर दमौलीमा खेलमैदान निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रयास गरिने आश्वासन दिएका छन्।

स्थानीय युवाहरूले लामो समयदेखि खेलमैदानको माग गर्दै आएका थिए। रिमालको पहललाई दमौलीका युवाहरूले सकारात्मक रूपमा लिँदै यसले भविष्यमा खेलकुद गतिविधि विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। अब सम्बन्धित निकायबाट औपचारिक प्रस्ताव र बजेट विनियोजनको प्रतीक्षामा स्थानीय युवा तथा खेलप्रेमीहरू रहेका छन्। खेलमैदानकाे सुधार र संरक्षणका लागि दमाैलीमा युवाहरूले डेलिगेशन जाने ,ध्यानाकर्षण गराउने गरिरहेको सन्दर्भमा उनलेे मन्त्रीलाई भेटेका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page