प्रधानमन्त्री बने बैंकले लिलाम गरेका सम्पत्ति फिर्ता गराइदिन्छु : दुर्गा प्रसाई

दमौली, ९ पुस
नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफू प्रधानमन्त्री बनेको खण्डमा बैंकले लिलाम गरेका सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गराइदिने घोषणा गरेका छन्।
बुधबार वालिङ जाने क्रममा दमौलीमा पीडितहरूसँग भएको संक्षिप्त भेटघाटमा प्रसाईले बैंकले लिलाम गरेको सम्पत्ति मालपोत कार्यालयमार्फत पहिलाकै धनीको नाममा पास गराइने बताएका हुन्। अर्काको सम्पत्ति लिने अधिकार कसैलाई नभएको उल्लेख गर्दै उनले पीडितलाई कुनै समस्या आएमा आफूलाई प्रत्यक्ष सम्पर्क गर्न आग्रहसमेत गरे।
प्रसाईका अनुसार पीडितहरूको माग र समस्याबारे केही दिनअघि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकिएको छ र आगामी भेटमा पुनः जानकारी गराइनेछ। नागरिकको पक्षमा आवाज उठाउँदा जुनसुकै जोखिम मोल्न पनि आफू तयार रहेको उनले बताए।

उक्त अवसरमा प्रसाईले पीडितहरूको गुनासो गम्भीरतापूर्वक सुन्दै सहानुभूति प्रकट गरेका थिए।
यसैबीच, नागरिक बचाउ अभियानको व्यास नगर संयोजकमा नियुक्त भएको करिब एक महिनामै जीवन शाहीले सक्रियता देखाउँदै दमौलीस्थित आफ्नै होटलमा कार्यक्रम आयोजना गरेका छन्।



























