नेपथ्य लाइभ इन बन्दीपुर: संगीत र पर्यटन उत्सव एकै साँझमा
बन्दीपुर, तनहुँ – नेपालको प्रतिष्ठित लोक–रक ब्यान्ड नेपथ्य फेब्रुअरी १४, २०२६ (भ्यालेन्टाइन डे) मा बन्दीपुरमा विशेष लाइभ कन्सर्ट आयोजना गर्न लागेको छ। टुडिखेल, बन्दीपुरमा साँझ ६:१५ बजेबाट सुरु हुने यो कार्यक्रम “Visit Bandipur Year 2025” अभियान अन्तर्गत आयोजना गरिँदैछ, जसले स्थानीय पर्यटन, संस्कृति र आर्थिक प्रवद्र्घनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कार्यक्रममा नेपथ्यले आफ्ना चर्चित गीतहरू – जस्तै “यो जिन्दगानी”, “छेक्यो छेक्यो”, “रेशम” लगायतका धुन प्रस्तुत गर्ने तयारी गरेको छ। यस अवसरमा सांगीतिक प्रस्तुति मात्र नभई सांस्कृतिक नृत्य, स्थानीय खानाका स्वादिष्ट प्रस्तुतिहरू समेत समावेश गरिने आयोजकहरूले जानकारी दिएका छन्।
कन्सर्टलाई व्यवस्थित, मर्यादित र सफल बनाउन बन्दीपुरका युवाहरू एकजुट भएका छन्। खड्गदेवि बन्दिपुर युवा क्लबको आयोजनामा गठन गरिएको कार्यक्रम सचिवालयले व्यवस्थापन, प्रचार–प्रसार, सुरक्षा, स्वयंसेवक परिचालन र समग्र समन्वयको जिम्मेवारी सम्हाल्नेछ। सचिवालय संयोजकका रूपमा रवि श्रेष्ठ तोकिएका छन् भने सदस्यहरूमा मंगल सिं गुरुङ, अमिर गुरुङ, आकाश गुरुङ, सन्जय गुरुङ, अशोक गुरुङ, डिल बहादुर राना (विजय), सन्तोष थापा, बसन्त पौडेल, सुदिन पौडेल, अभिजेस पिया रहेका छन्।
आयोजकहरूले बन्दीपुरमा नेपथ्यजस्तो प्रतिष्ठित सांगीतिक समूहको प्रस्तुति स्थानीय सांस्कृतिक जीवनका लागि ऐतिहासिक अवसर भएको बताए। कार्यक्रमले बन्दीपुरलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय दर्शक तथा पर्यटकका लागि सांगीतिक र सांस्कृतिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरिएको छ।

साथै, सम्पूर्ण बन्दिपुरवासी, युवाहरू र संगीतप्रेमी दर्शकहरूलाई सहयोग, सहभागिता र समर्थनका लागि आयोजकहरूले आह्वान गरेका छन्। अग्रिम टिकट लिएर रोमाञ्चक साँझ अनुभव गर्न सबैलाई सुझाव दिइएको छ।



























