शान्ति आधारभूत विद्यालयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

शान्ति आधारभूत विद्यालयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–अन्तर्गत दुर्गम क्षेत्र मनपाङकाे सर्वलाङमा अवस्थित शान्ति आधारभूत विद्यालयको ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अस्मिता आलेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ रहनुभएको थियो। यस्तै, विशिष्ट अतिथिहरूमा म्याग्दे–६ का वडाध्यक्ष हिरालाल गुरुङ, म्याग्दे गाउँपालिका शिक्षा शाखा प्रमुख विष्णु क्षेत्री खत्री रहनुभएकाे थियो । यस्तै कार्यक्रममा वडा सदस्य बुद्धि बहादुर थापा , रत्न माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विनोद रानाभाट , रामशान्ति टोल विकास समिति अध्यक्ष विष्णुबहादुर थापा तथा पूर्व प्रधानाध्यापक केशव घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विजयराज पाध्यायले दुर्गम भौगोलिक अवस्थाका कारण विद्यालयले भोग्नुपरेका शैक्षिक, भौतिक तथा व्यवस्थापकीय समस्याहरूको बारेमा जानकारी गराउनुभयो। उहाँले यातायातको अभाव, सीमित स्रोत–साधन, विद्यार्थी संख्या घट्दै गएको अवस्था तथा शिक्षक व्यवस्थापनमा देखिएका चुनौतीहरूले विद्यालय सञ्चालनमा कठिनाइ सिर्जना गरिरहेको बताउनुभयो। यद्यपि, यस्ता कठिन परिस्थितिका बीच पनि स्थानीय समुदाय, अभिभावक तथा सरोकारवालाहरूको सहयोगमा विद्यालयले शैक्षिक गुणस्तर सुधारतर्फ निरन्तर प्रयास गरिरहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा अतिथिहरूले दुर्गम क्षेत्रका विद्यालयहरूलाई विशेष प्राथमिकतामा राखी आवश्यक सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै, शिक्षा नै समृद्धिको आधार भएकाले सबै पक्ष मिलेर विद्यालयको विकासमा हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।


वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप मजबुत बनाउँदै दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षा सम्भव छ भन्ने सन्देश प्रवाह गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page