नेपाल मगर संघ तनहुँको १६औँ अधिवेशनमा सहमति जुट्न सकेन, अध्यक्षमा ४ जनाको उम्मेदवारी

नेपाल मगर संघ तनहुँको १६औँ अधिवेशनमा सहमति जुट्न सकेन, अध्यक्षमा ४ जनाको उम्मेदवारी

नेपाल मगर संघ तनहुँको १६औँ अधिवेशन माघ १५ र १६ गते सञ्चालन भइरहेको छ। अधिवेशनमा अध्यक्ष पदका लागि सहमति जुट्न नसक्दा चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
अध्यक्ष पदमा हालकी वरिष्ठ उपाध्यक्ष मिना थापा, द्वितीय उपाध्यक्ष हर्क थापा (एचबी), व्यास नगरका निवर्तमान अध्यक्ष रिमा आले र पूर्णबहादुर थापाले उम्मेदवारी दिएका हुन्। सहमति हुन नसके शनिबार मतदान हुने संघले जनाएको छ। यस्तै सचिव पदमा ६ जनाको उम्मेदवारी परेको छ।
यसअघि २०६४ सालमा सम्पन्न १३औँ अधिवेशनमा सर्वसम्मति हुन नसक्दा मतदान भएको थियो। उक्त निर्वाचनमा यमबहादुर सारू र सिद्धान्त थापा बीच प्रतिस्पर्धा भएको थियो। त्यसयता सम्पन्न सबै अधिवेशनहरू सर्वसम्मत रूपमा नेतृत्व चयन हुँदै आएका थिए।
यसपटक अध्यक्ष पदका उम्मेदवारहरू विभिन्न राजनीतिक पृष्ठभूमिसँग निकट मानिएकाले पनि दलिय प्रतिस्पर्धा हुने सम्भावना रहेको बताइएको छ। मिना थापा जनमुक्ति पार्टी, हर्क थापा नेपाली कम्युनिस्ट पार्टी र रिमा आले तथा पुर्ण थापा नेपाली कांग्रेस निकट मानिन्छन्। यद्यपि उम्मेदवारी फिर्ता लिने समय बाँकी नै रहेकोले अन्तिममा ककसकाे बिचमा मतदान हुन्छ एकिन हुन बाँकी नै छ ।
मतदान भएमा जिल्ला कार्यसमितिका ४१ जना, १० वटा पालिकाबाट ३० जना तथा भातृ संस्था मगर विद्यार्थी संघ, मगर महिला संघ, मगर लेखक संघ, युवा संघ, सांस्कृतिक संघ र मगर भूपू संघबाट एक–एक जना गरी कुल ७७ जना मतदाता रहनेछन्।

अधिवेशनको उद्घाटन संघका वर्तमान अध्यक्ष खड्गबहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सभापति जितप्रकाश आले रहेका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page