तनहुँमा निर्वाचन सामग्री वितरण तीव्र, ३११ केन्द्रमा मतदान तयारी पूरा
दमौली, तनहुँ — फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सामग्री लिन जिल्ला निर्वाचन कार्यालय तनहुँमा कर्मचारीहरूको उल्लेख्य भिडभाड देखिएको छ। कार्यालयले ५० प्रकारका निर्वाचन सामग्री वितरण गरिरहेको जनाएको छ।
जिल्लाभर १४६ मतदान स्थलमा ३११ मतदान केन्द्र तोकिएका छन्। ती केन्द्रहरूका लागि सामग्री पठाउने कार्य अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।
क्षेत्र नं. १ (दमौली) अन्तर्गत १५५ मतदान केन्द्रका लागि सामग्री पठाइएको छ भने क्षेत्र नं. २ (शुक्लागण्डकी) का १५६ केन्द्रका लागि सामग्री बुझ्ने काम भइरहेको छ।
तनहुँमा निर्वाचन सञ्चालनका लागि १,८६० जना कर्मचारी खटिएका छन्। जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

निर्वाचन सामग्री बुझिसकेपछि कर्मचारीहरू आ–आफ्ना मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन्। जिल्लामा शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न गराउने तयारी गरिएको कार्यालयले जनाएको छ।


























