पाँचौं शुक्लागण्डकी महोत्सवमा दर्शकको सहभागिता बढ्दै
दुलेगौंडा, १२ चैत ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौं शुक्लागण्डकी महोत्सवमा दर्शकको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ। विहीबार चैते दशैं परेकाले महोत्सव स्थलमा दर्शकहरूको बाक्लो उपस्थिति देखिएको आयोजक संस्थाका अध्यक्ष तथा महोत्सवका मूल संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए।
बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुला चौरमा सञ्चालन भइरहेको महोत्सवमा विहीबार कलाकारहरू कुमार पुन, अस्मिता अधिकारी, शुभद्रा श्रेष्ठ, दिपेन्द्र केसी र मञ्जु विक लगायतले आकर्षक प्रस्तुति दिँदै दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए।
यस्तै, शुक्रबारका लागि चर्चित गायिका समीक्षा अधिकारीसहित शिला आले, सलिना नेपाल, गायक बालचन्द्र बराल, शंकर सुनार तथा हास्य कलाकार सुरज भिरखोइरेको प्रस्तुति रहने कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेमबहादुर श्रेष्ठले जानकारी दिए।
“आर्थिक, सामाजिक तथा खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन, कला, सीप र संस्कृतिको संरक्षण” भन्ने मूल नारासहित सञ्चालन भइरहेको महोत्सव चैत १७ गतेसम्म चल्नेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक–सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको पदयात्रा समेटिएको प्रचार–प्रसार उपसमिति संयोजक बालकृष्ण विकले बताए।
त्यसैगरी, पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य तथा विद्यालयस्तरीय नृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ। यस वर्ष टिकटक र रिल्स प्रतियोगिता पनि थपिएको प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए। पालिकास्तरीय भलिबल प्रतियोगिता शुक्रबार बिहानबाट सुरु हुने छ।

महिला उद्यमी विकास समिति र विभिन्न वडा व्यवस्थापन समितिको सह–आयोजनामा भइरहेको महोत्सवमा घरेलु तथा कृषि उत्पादन, व्यवसायिक स्टल, रेष्टुरेन्ट, सामाजिक संस्था, सूचना केन्द्र र स्वास्थ्य शिविरसहित कुल १ सय ७५ वटा स्टल राखिएको छ।




























