प्राज्ञिक गौरव: प्रा.डा. निर्मलमणि अधिकारीलाई ‘गण्डकी वाङ्मय पुरस्कार–२०८२’ प्रदान गरिने

प्राज्ञिक गौरव: प्रा.डा. निर्मलमणि अधिकारीलाई ‘गण्डकी वाङ्मय पुरस्कार–२०८२’ प्रदान गरिने


दमौली, तनहुँ — गण्डकी वाङ्मय प्रतिष्ठान, तनहुँले यस वर्षको ‘गण्डकी वाङ्मय पुरस्कार–२०८२’ विशिष्ट सिद्धान्तकार एवं सञ्चारविद् प्रा.डा. निर्मलमणि अधिकारीलाई प्रदान गर्ने निर्णय गरेको छ।
शनिबार बसेको प्रतिष्ठानको कार्यसमिति बैठकले नेपाली साहित्य, सञ्चार तथा प्राज्ञिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै अधिकारीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।
प्रतिष्ठानकी अध्यक्ष गौकुमारी न्यौपानेका अनुसार नयाँ वर्ष २०८३ को अवसर पारेर दमौलीमा आयोजना गरिने विशेष समारोहका बीच उक्त पुरस्कार प्रदान गरिनेछ। उहाँले नेपाली वाङ्मयको विकास र समृद्धिमा अधिकारीको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो।
तनहुँको म्याग्दे गाउँपालिका–४ पिपलटार, छाङमा जन्मिनुभएका प्रा.डा. अधिकारी हाल काठमाडौँ विश्वविद्यालयअन्तर्गत भाषा तथा आमसञ्चार विभागका प्राध्यापक तथा विभाग प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ।


उहाँद्वारा प्रतिपादित ‘साधारणीकरण ढाँचा’ (Sadharanikaran Model of Communication) विश्वका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश भई अध्ययन–अध्यापन हुँदै आएको छ। सञ्चार तथा अनुसन्धान क्षेत्रमा ६० भन्दा बढी कृति र सयौँ लेखमार्फत उहाँले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page