व्यास नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुँदै
दमौली, २१ चैत
तनहुँको व्यास नगरपालिकाको आयोजनामा जिल्लाभित्रका पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिताको तयारी हाल तीव्र रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।
नगरपालिकाका अनुसार महिला भलिबल प्रतियोगिता चैत २८ गते र पुरुष भलिबल प्रतियोगिता चैत ३० गते आयोजना गरिनेछ। व्यास नगर खेलकुद समितिका अध्यक्ष तथा वडा नं. ६ का अध्यक्ष जीवन गुरुङ (कुमार) ले प्रतियोगितामा जिल्लाका अधिकांश पालिकाको सहभागिता सुनिश्चित गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार हालसम्म ८ वटा पालिकासँग सम्पर्क भइसकेको छ भने बाँकी पालिकाहरू पनि सहभागी हुने अपेक्षा गरिएको छ। प्रतियोगिताका लागि चैत २५ गतेसम्म टिम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
पुरुष भलिबलतर्फ प्रथम र द्वितीय हुने टिमलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै महिला भलिबलतर्फ प्रथम र द्वितीय हुने टिमले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने नगरपालिकाले जनाएको छ ।
व्यास नगरपालिकाको स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा प्रत्येक टिमले दुई जना बाहिरी खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत समावेश गर्न सकिनेछ।
प्रतियोगितालाई सफल बनाउन खेलमैदान तयारी, प्रचारप्रसार तथा व्यवस्थापनका कामहरू तीव्र गतिमा भइरहेको बताइएको छ ।

युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हाे ।


























