दमौलीमा जारी टाइगर ल्याण्ड महाेत्सवमा निश्चल थापाको बेजोड प्रस्तुति, दर्शक उत्साहित

दमौली, तनहुँ — व्यास नगरपालिका–४, बाघभञ्ज्याङ सिमलटारमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत वैशाख २ गते बुधबार चर्चित राष्ट्रिय कलाकार निश्चल थापाले बेजोड प्रस्तुति दिएका छन्।
निश्चलले ‘मनकामना लाई फुलैको डोली’ लगायत करिब एक दर्जन गीत प्रस्तुत गर्दा दर्शक नाचेर, हुटिङ गर्दै साथ दिएका थिए। उनको प्रस्तुति उत्साहपूर्ण रहँदा महोत्सव स्थल थप जीवन्त बनेको थियो।
उक्त कार्यक्रममा गायिका अनु सुनार र सुमन रोकाले पनि आफ्ना सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए। त्यस्तै, जादुगर राजेन्द्र गिरी (गुन्द्रुके) र सागर गिरीले जादुमय प्रस्तुति देखाउँदै दर्शकलाई हँसाएका थिए भने अपाङ्ग कलाकार चेतबहादुर केसीको प्रस्तुति पनि प्रेरणादायी बनेको थियो।
नृत्यतर्फ रचना, रेनु र सावित्रीले आकर्षक प्रस्तुति दिएका थिए। कार्यक्रमको सञ्चालन गायक एवम् सञ्चालक विश्वकुमार बुढाले गरेका थिए।

नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको महोत्सव चैत २७ गतेदेखि सुरु भई वैशाख ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। महोत्सवमा कला, संस्कृति, कृषि, घरेलु उद्योग तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विविध गतिविधिहरू समेटिएका छन्।
आयोजक टाइगर ल्याण्ड युवा क्लबका अध्यक्ष विपिन घलेका अनुसार महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति जारी रहनेछ। वैशाख ३ गते बिहीबार पनि चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहने छ, जसले महोत्सवको रौनक अझ बढाउने अपेक्षा गरिएको छ।


























