म्याग्दे गाउँपालिकामा जलवायु सूचना केन्द्र स्थापना हुने
तनहुँ — म्याग्दे गाउँपालिका मा कृषि तथा जलवायुसम्बन्धी सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले जलवायु सूचना केन्द्र स्थापना गर्न सहमति भएको छ। गाउँपालिका र चिल्ड्रेन–नेपाल बीच भएको सहमति–पत्र (MoU) अनुसार केन्द्रमार्फत स्थानीय किसान तथा समुदायलाई मौसम, कृषि र जलवायु जोखिमसम्बन्धी सूचना नियमित रूपमा उपलब्ध गराइनेछ।
सम्झौताअनुसार केन्द्रले दैनिक तापक्रम, वर्षा, हावाहुरी, असिना, हावाको गति, आर्द्रता तथा साप्ताहिक मौसम पूर्वानुमान जस्ता महत्वपूर्ण जानकारी प्रवाह गर्नेछ। साथै आवश्यकता अनुसार कृषि सल्लाह, चेतनामूलक सामग्री तथा जलवायु अनुकूल कृषि प्रविधि (जस्तै: थोपा सिँचाइ, मल्चिङ, टनेल खेती) सम्बन्धी जानकारी पनि उपलब्ध गराइने म्याग्दे गाउँपालिकाले जनाएको छ।
सूचना प्रवाहलाई प्रभावकारी बनाउन डिजिटल सूचना बोर्ड, फोन सन्देश, ह्वाट्सएप र फेसबुक समूह जस्ता माध्यम प्रयोग गरिनेछ। यसबाट किसानहरूले समयमै सूचना पाई कृषि उत्पादन वृद्धि, जलवायु जोखिम न्यूनीकरण तथा जीवनस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
सूचना केन्द्रका लागि आवश्यक तथ्यांक तथा प्राविधिक सहयोग जल तथा मौसम विज्ञान विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा गाउँपालिकाको कृषि तथा वातावरण शाखाबाट उपलब्ध गराइनेछ।
गाउँपालिकाले केन्द्र सञ्चालनका लागि आवश्यक पूर्वाधार, कर्मचारी (जलवायु सूचना फोकल पर्सन) तथा व्यवस्थापनको जिम्मेवारी लिनेछ भने चिल्ड्रेन–नेपाल ले ‘जलवायु उत्थानशील समुदाय परियोजना’ अन्तर्गत करिब दुई लाख रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। साथै चेतनामूलक सामग्री उत्पादन तथा वितरणमा समेत सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौताअनुसार हस्ताक्षर भएको मितिबाट ३० दिनभित्र केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइनेछ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले सहमति–पत्रमा हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी रोहवरमा रहनुभएको थियो।


























