प्रा. डा. निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव राजधानीमा मनाइने

प्रा. डा. निर्मलमणि अधिकारीको स्वर्ण जन्मोत्सव राजधानीमा मनाइने


तनहुँ, वैशाख १७ — नेपालका प्रतिष्ठित सिद्धान्तकार, सञ्चारविद् तथा शिक्षाविद् निर्मलमणि अधिकारीको सम्मानमा आगामी जेठ १ गते राजधानीमा स्वर्ण जन्मोत्सव समारोह आयोजना गरिने भएको छ। ‘स्वर्ण जन्मोत्सव मूल आयोजक समिति–२०८३’ ले उहाँको बहुआयामिक योगदानको कदर गर्दै विशेष कार्यक्रम गर्न लागेको हो।
तनहुँको म्याग्दे–४, पिपलटारमा वि.सं. २०३३ साल जेठ १ गते जन्मनुभएका अधिकारीले पाँच दशकको जीवनयात्रामा शैक्षिक, सामाजिक–सांस्कृतिक, दार्शनिक तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ। उहाँद्वारा लिखित आस्थाको शान्ति युद्ध पुस्तक विश्वका उत्कृष्ट धार्मिक कृतिमध्ये शीर्ष पाँचभित्र पर्न सफल भएको उल्लेख गरिएको छ।
सञ्चार विधामा नेपालबाट पहिलो विद्यावारिधि (पिएचडी), पहिलो पोस्टडक्टरेट तथा मिडिया स्टडिजमा पहिलो ‘प्रा.डा.’ बन्ने कीर्तिमान कायम गर्नुभएका अधिकारीका साहित्य, दर्शन, संस्कृति र अनुसन्धानका विभिन्न विधामा ६० भन्दा बढी पुस्तक प्रकाशित छन्। साथै, उहाँका दुई हजार ६०० भन्दा बढी फुटकर रचना र ८० भन्दा बढी अनुसन्धान लेख सार्वजनिक भइसकेका छन्।
उहाँद्वारा विकसित ‘सञ्चारको साधारणीकरण ढाँचा’, ‘राज्यराष्ट्र’, ‘स्थितिगत्यात्मक प्रगतिवाद’ र ‘सञ्चारयोग’ जस्ता सिद्धान्तहरूले अन्तर्राष्ट्रिय मान्यता पाएका छन्। ती सिद्धान्तहरू हाल विश्वका विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश भई अध्ययन–अनुसन्धान हुँदै आएको छ।
समारोह मूल आयोजक समितिका संयोजक अरुण पौडेलका अनुसार जेठ १ गते शुक्रबार दिउँसो २ बजे राष्ट्रिय नाचघरमा कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा गोष्ठी, डकुमेन्ट्री प्रदर्शन, सांस्कृतिक प्रस्तुति तथा अधिकारीलाई विशेष अभिनन्दन गरिनेछ।


हाल काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका विभागीय प्रमुख रहनुभएका अधिकारीले नेपालको प्राज्ञिक उचाइलाई विश्वमञ्चमा स्थापित गर्न निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page