रास्वपा शुक्लागण्डकीको पहिलो नगर अधिवेशन सम्पन्न, हरि खड्काको नेतृत्वमा नयाँ समिति चयन

रास्वपा शुक्लागण्डकीको पहिलो नगर अधिवेशन सम्पन्न, हरि खड्काको नेतृत्वमा नयाँ समिति चयन


तनहुँको शुक्लागण्डकी नगरपालिका मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो नगर अधिवेशन सम्पन्न भएको छ। दुलेगौंडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा आयोजित अधिवेशनले मतदान प्रक्रियामार्फत नयाँ नगर कार्यसमिति चयन गरेको हो।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा हरि खड्का ७८ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी विजय जोशीले ५० मत र राजेश पाण्डेले ३९ मत प्राप्त गरेका थिए। तीन जनाबीचको प्रतिस्पर्धाले अधिवेशनलाई निकै चासोपूर्ण बनाएको थियो।
उपसभापतिमा रुपा गौतम पौडेल निर्वाचित भएकी छन्। उनले ८८ मत प्राप्त गरिन् भने प्रतिस्पर्धी विज्ञान भण्डारीले ७४ मत पाए। सचिव पदमा पवित्रा पोख्रेल ८९ मतसहित विजयी हुँदा सरोज पौडेलले ७६ मत प्राप्त गरेका थिए। सह–सचिवमा टोपबहादुर महत सर्वसम्मत चयन भएका छन्।
नवगठित नगर कार्यसमितिका सदस्यहरूमा शालिकराम लामिछाने, सोत्रबहादुर कुमाल, कृष्णप्रसाद सिग्देल, धनमाया बानियाँ, पदमराज भुषाल, टेकबहादुर नेपाली, हिरा कार्की र सुमि परियार चयन भएका छन्। सभापति पदका उम्मेदवार विजय जोशीलाई पनि कार्यसमितिमा मनोनयन गरिएको छ। प्रतिस्पर्धामा रहेका नेताहरूलाई समेत समेटेर संगठनलाई थप एकताबद्ध बनाउने उद्देश्यले उनलाई जिम्मेवारी दिइएको जनाइएको छ।
अधिवेशनबाट अर्जुन तिमिल्सिना र प्रकाश थापा महाधिवेशन प्रतिनिधि चयन भएका छन् भने तिर्थराज गर्तौला जिल्ला प्रतिनिधि बनेका छन्।
रास्वपाको पहिलो नगर अधिवेशनमार्फत शुक्लागण्डकी मा पार्टीको संगठनात्मक संरचनाले औपचारिक पूर्णता पाएको पार्टीले जनाएको छ। कार्यक्रममा नगरका १२ वटै वडाबाट प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


नवनिर्वाचित सभापति हरि खड्काले सबैको साथ र सहकार्यमा संगठनलाई अझ सक्रिय, सुदृढ र जनउत्तरदायी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नगरस्तरमा पार्टीको विस्तारसँगै जनसरोकारका मुद्दालाई प्रभावकारी रूपमा उठाउने बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page