भानुमा भानुभक्त आचार्यकाे स्मृति दिवस मनाइयो

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा भानुभक्त आचार्यको १५६ औं स्मृति दिवश मनाईएको छ ।
भानु जन्मस्थल चुँदीरम्घाको प्राङ्गणमा भएको स्मृति दिवशमा नगर प्रमुख तथा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष त्रिपाठीले भानुभक्त आचार्यको पूर्ण कदको शालिकमा माल्र्यार्पण गर्दै नेपाल एकिकरणमा पृथ्वीनारायण शाहको जत्तिको योगदान छ , त्यत्तिकै नेपाली भाषाको लागि भानुभक्त आचार्यको योगदान रहेकाे बताए । नगर प्रमुख त्रिपाठीले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत बनाउन विशेष जोड दिएको भएपनि स्थानीय तहलाई नै उक्त जिम्मेवारी दिएकोले अब पालिकाको तर्फबाट आदिकवि भानुभक्त आचार्य र उहाँको जन्मस्थल चुँदीरम्घालाई चिनाउन गर्नु पर्ने कार्यमा कुनै कसुर बाँकी नराख्ने बताए ।
नगरपालिकाकी उप प्रमुख उमा गोतामेले आदिकवि भानुभक्त आचार्यको नामबाट भानु नगरपालिकाको नामाकरण भएकोमा खुशी ब्यक्त गर्दै भानु जन्मस्थललाई साहित्यीक एवं धार्मिक पर्यटकीय हव बनाउन पहल भैरहेको भन्दै सम्पुर्णलाई आ आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरीन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले भानु जन्मस्थलको लागि राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासो रहेको र गत आर्थिक वर्षमा ५ करोड बजेट विनियोजन भएको र उक्त रकमको ९९ प्रतिशत काम सम्पन्न भैसकेको जानकारी दिँदै भानु जन्मस्थललाई सप्तधामको रुपमा विकासका लागि गुरुयोजना निर्माण भैसकेको उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सचिव सहदेव अधिकारी , काँग्रेस नगर सभापति रामकुमार श्रेष्ठ, नगर शिक्षा अधिकारी ध्रुबराज पौडेल, वडा नं. १ की अध्यक्ष कान्छीमाया तामाङ, भानु साहित्य उद्यनसमितिका उपाध्यक्ष श्रीभक्त आचार्य, पूर्व कार्यकारी निर्देशक नविनराज दाहाल लगायतले भानुभक्त आचार्यको योगदानको चर्चा गर्नु भएको भानु नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख कृपाहरी लौडारीले जानकारी दिए ।

त्यसअघि आईतबार विहान आचार्यको समाधि स्थल सतिघाट धाममा रुद्राक्षको १५६ वटा विरुवा रोपिएको थियो । भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वमा भएको उक्त कार्यक्रममा भानु नगरपालिकाका जनप्रतिनिधि, स्थानीयको साथमा नेपाली सेनाको रुरु भैरव दल गणका सकल दर्जा, शसस्त्र प्रहरी बल मनकामना गण र नेपाल प्रहरीकाे सहभागितामा वृक्षारोपण गरिएको नगर प्रमुख त्रिपाठीका स्वकिय सचिव अमित लामाले जानकारी दिए ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्म १८७१ असार २९ मा भएको थियो भने १९२५ असोज ६ गते मृत्यु भएको थियो ।
























