नेपाल भूपू सैनिक क्लबको ४१औं साधारणसभा सम्पन्न

नेपाल भूतपूर्व सैनिक क्लब दमौलीको ४१औं साधारणसभा, विजयदशमी, शुभदीपावली, छठ पर्व एवं नेपाल संवत् ११४५ को शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापाले भूतपूर्व सैनिक क्षमतावान हुने भएकाले सामाजिक क्षेत्रमा लाग्नुपर्ने बताए । उनले भने, “भूपू सैनिकमा नेतृत्व क्षमता तथा अनुशासनयुक्त हुने भएकाले देशका सामाजिक क्षेत्रमा नेतृत्व गर्नतर्फ अग्रसर हुनुपर्छ ।”

एनजिओ नेटवर्क तनहुँका अध्यक्ष प्रताप गुरुङले भूतपूर्व सैनिकले नेतृत्व सम्हालिसकेका व्यक्ति भएकाले सामाजिक क्षेत्रमा पनि नेतृत्व गर्दै देशलाई महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

नेपाल भूपू सैनिक क्लब दमौलीका अध्यक्ष क्या.तारालाल मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल भारत भूपू सैनिक संघ तुरतुरेका अध्यक्ष सु.केशरबहादुर थापा, भूपू सैनिक क्लबका निवर्तमान अध्यक्ष सुर्जकुमार मल्ल, पूर्व अध्यक्ष क्या.सन्तलाल श्रेष्ठलगायतले भूपू सैनिकका परिवार तथा आफन्तमा हुने विभिन्न समस्याको समाधानमा सहयोग गर्न तयार रहेको बताएका थिए । सचिव सु.मदराज मल्लले सचिवको प्रतिवेदन, कोषाध्यक्ष ना.सु.प्रेमबहादुर पुनले कोषाध्यक्षको प्रतिवेदन उक्त कार्यक्रमा प्रस्तुत गरेका थिए ।
























