कानको जाली फुट्ने गरी पटका पड्काउँदा पनि सुन्दैन प्रहरी
तनहुँकाे दमाैली लगायतका स्थानमा दिपावली (तिहार) नजिकिएसँगै पटका बिक्री वितरण गर्ने कार्य खुल्लमखुल्ला भईरहेको छ । पटका, भुईचम्पा लगायत विस्फोटक पर्दाथ पड्काउन र विक्रि वितरण गर्न प्रतिबन्ध भएपनि जिल्लाका विभिन्न स्थानमा यसको खुलेआम विक्रि वितरण भईरहेको हो ।

बजार क्षेत्रमा प्रहरीकै अगाडी विभिन्न प्रकारका पट्का विक्रि वितरण तथा पड्काउने कार्य भईरहेपनि प्रहरी प्रशासनले भने सुचना निकाल्ने बाहेकको नियन्त्रणमा लिन चासो दिएको छैन् । पट्का जथाभावि पड्काउने क्रम पनि बढ्दै गएपनि यसको नियन्त्रण तर्फ पनि प्रहरीले ध्यान दिने गरेको छैन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले चाडपर्व लक्षित सुरक्षा योजना ल्याएको भनिएपनी प्रहरीले निगरानीमा कडाइ नगर्दा चाेकचाेकमा पटका कानको जाली नैँ फुट्ला जसरी पड्काइरहेका छन् ।
चाडपर्वमा रमाइलोका लागि भन्दै पड्काईने पटकाका कारण आगलागी तथा अंगभंग समेत जोखिम हुने गर्दछ । कानुनतः पनि यो कार्य बर्जित छ ।
पट्का लगायत विस्फोटक पदार्थ पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गत तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
























