घुमाउने पुलले वाग्लेलाई तनाव : १२ वर्षे अलपत्रले जनता आक्रोशित, ‘नो भोट’को चेतावनी

घुमाउने पुलले वाग्लेलाई तनाव : १२ वर्षे अलपत्रले जनता आक्रोशित, ‘नो भोट’को चेतावनी

तनहुँ–चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल १२ वर्षदेखि अलपत्र परेपछि यस क्षेत्रको चुनावी माहोल तातेको छ। गण्डकी प्रदेशलाई तराईसँग छोटो दूरीमा जोड्ने बुद्धसिंह मार्गको मुख्य संरचना मानिएको यो पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दा आक्रोशित छन्।
यसै सन्दर्भमा स्वर्णिम वाग्ले ले गत निर्वाचनदेखि नै “मेरो पालामा म पुल बनाउँछु” भन्दै प्रतिबद्धता जनाएर विजयी हुँदा स्थानीय निकै आशावादी बनेका थिए। तर १२ वर्ष बित्दासमेत पुल फाउन्डेसन चरणमै सीमित रहँदा विकासको “सिन्को समेत नभाँचिएको” भन्दै स्थानीय बासिन्दाले आश्वासनप्रति अविश्वास व्यक्त गर्न थालेका छन्।
घुमाउने पुल आसपासका ६ वडाका करिब ७ हजार मतदाता पुल नवन्दा प्रत्यक्ष प्रभावित छन्। ४ मतदान केन्द्र रहेको यस क्षेत्रमा संघर्ष समितिका अगुवाहरूले समयसीमा तोकेर काम अघि नबढाइएको भन्दै केही समयअघि आन्दोलन गर्दै “नो भोट” अभियानसमेत चलाएका थिए।
संघर्ष समितिका सल्लाहकार धनबहादुर गुरुङ, भीमबहादुर राना र सचिव कमल गुरुङलगायतले राजनीतिक दलहरूबाट दोहोरिँदै आएको आश्वासनभन्दा परिणाम चाहिएको बताएका छन्। “चुनावमा भोट माग्ने तर जितेपछि फर्केर नहेर्ने प्रवृत्ति अब स्वीकार्य छैन,” उनीहरूको भनाइ छ।
स्थानीय तहदेखि संघीय प्रतिनिधिसम्म विकासका प्रतिबद्धता दोहोरिए पनि निर्माण कम्पनीको सुस्त गति, पटक–पटकको डिजाइन परिवर्तन र प्रशासनिक समन्वय अभावलाई ढिलाइको कारण बताइए पनि जनताले त्यसलाई बहाना मात्र मानेका छन्। त्यही पुलमा पछिल्लोपटक विजय हासिल गरेका वाग्लेले पटक–पटक स्थलगत अवलोकन र फोटो सार्वजनिक गरे पनि ठोस प्रगति नदेखिएको स्थानीयको आरोप छ।


चुनाव नजिकिँदै जाँदा घुमाउने पुल अब सामान्य पूर्वाधार आयोजना मात्र नभई राजनीतिक विश्वसनीयताको कसी बनेको छ। यदि आश्वासन व्यवहारमा रूपान्तरण हुन सकेन भने, यस क्षेत्रका मतदाताको “नो भोट” रणनीतिले वाग्लेसहित प्रतिस्पर्धी उम्मेदवारहरूलाई प्रत्यक्ष चुनौती दिने संकेत देखिएको छ।
स्थानीयको एउटै प्रश्न छ—यसपटक पनि आश्वासनमै सीमित हुने कि साँच्चै निर्माण अघि बढ्ने?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page