एसपी कार्कीको सक्रियतामा पुट्टार प्रहरी चौकीका लागि १० रोपनी जग्गा प्राप्त, आफ्नै भवन निर्माणको बाटो खुल्यो
तनहुँ – तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ स्थित पुट्टार प्रहरी चौकीका लागि १० रोपनी सरकारी जग्गा प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्कीको विशेष पहल, सक्रियता र सहजिकरणमा मन्त्रिपरिषद्को निर्णयबाट उक्त जग्गा प्रहरी प्रयोजनका लागि उपलब्ध गराइएको हो।
यससँगै हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको प्रहरी चौकीलाई अब आफ्नै भवन निर्माण गरी व्यवस्थित रूपमा सञ्चालन गर्ने बाटो खुलेको छ। आवश्यक बजेट प्राप्त भएपछि कार्यालय भवन, प्रहरी व्यारेक, मेश, शौचालय तथा स्नानगृह निर्माण गर्ने योजना रहेको बताइएको छ।
२०७७ कात्तिक ५ गते स्थापना भएको पुट्टार प्रहरी चौकी अहिलेसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको थियो। ग्रामीण भेगमा रहेको यस चौकीलाई स्थायी संरचना नहुँदा प्रहरी कर्मचारीलाई बसोबास तथा सेवा सञ्चालनमा कठिनाइ हुँदै आएको थियो। अब जग्गा प्राप्त भएसँगै प्रहरी सेवा प्रभावकारी, व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा मालपोत कार्यालय तनहुँले २०८२ माघ २६ गते प्रहरी चौकी पुट्टार तनहुँको नाममा जग्गा उपयोगको प्रमाणपत्र प्रदान गरेको हो। प्रहरी चौकी पुट्टारको च.नं. ९७ मिति २०८२/१०/२७ को पत्रमार्फत उक्त प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित निकायमा पठाइएको छ।
जग्गा प्राप्त भएपछि अब भवन निर्माणका लागि आवश्यक बजेट तथा व्यवस्थापन गरिदिन सम्बन्धित निकायमा अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
तनहुँमा एसपी कार्की आएको करिब सात महिनाको अवधिमा जिल्लाको शान्ति सुरक्षा अवस्था मजबुत भएको स्थानीयवासीले बताएका छन्। उनको नेतृत्वमा जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न प्रभावकारी काम हुँदै आएको छ। साथै हालै सम्पन्न निर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

ग्रामीण क्षेत्रमा प्रहरी संरचना मजबुत बनाउन पुट्टार प्रहरी चौकीका लागि जग्गा प्राप्त हुनु अर्को महत्वपूर्ण उपलब्धि भएको बताइन्छ। यसले स्थानीय नागरिकलाई प्रहरी सेवा छिटो र प्रभावकारी रूपमा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास गरिएको छ।


























