दमौलीमा जारी टाइगर ल्याण्ड महोत्सवमा आज रामजी पाैडेल र पुजा लगायतको प्रस्तुति

दमौलीमा जारी टाइगर ल्याण्ड महोत्सवमा आज रामजी पाैडेल र पुजा लगायतको प्रस्तुति

दमौली, तनहुँ — व्यास नगरपालिका–४ बाघभञ्ज्याङस्थित सिमलटारमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत वैशाख ३ गते बिहीबार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति प्रस्तुत गरिएको छ।
कार्यक्रममा लोक तथा दोहोरी गायक रामजी पौडेलले “भुल परे दाइ म त”, “रूमाल धोएर सुकाइदेउ”, “रेलै सलल” लगायत झन्डै एक दर्जन लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। उनका ऊर्जा भरिएका प्रस्तुति र दर्शकसँगको घुलमिल शैलीले महोत्सव स्थल निकै उत्साहजनक बनेको थियो।
त्यसैगरी चर्चित गायिका पूजा सिङ्जाली मगर, गायक बल बहादुर घर्ती मगर, सावित्रा हड्खले र सरोज सिग्देलले पनि आ-आफ्ना लोकप्रिय गीतमार्फत सांगीतिक माहोल तताएका थिए। कलाकारहरूको निरन्तर प्रस्तुति र दर्शकको सहभागिताले महोत्सव दिनप्रतिदिन थप आकर्षक बन्दै गएको आयोजक टाइगर ल्याण्ड युवा क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिए।
नृत्यतर्फ रचना, रेनु र सावित्रीको आकर्षक प्रस्तुति रहेको थियो भने कार्यक्रमको सञ्चालन सर्जन थापा मगरले गरेका थिए। सांस्कृतिक विविधता झल्काउने गीत, संगीत र नृत्यले महोत्सवलाई जीवन्त बनाएको सहभागीहरूले बताएका छन्।
चैत्र २७ गतेदेखि सञ्चालनमा रहेको महोत्सव वैशाख ७ गतेसम्म जारी रहनेछ। महोत्सव अवधिभर दैनिक रूपमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहँदै आएको छ भने आगामी दिनहरूमा अझ चर्चित कलाकारहरूको प्रस्तुति रहने तयारी गरिएको छ।

स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवले दमौली क्षेत्रको चहलपहल बढाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्‍याएको आयोजकको विश्वास छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page