म्याग्दे गापाको टोलीद्वारा अर्थ सहित आधा दर्जन मन्त्रालयमा बजेट तथा विकास योजनाको माग पेश

म्याग्दे गापाको टोलीद्वारा अर्थ सहित आधा दर्जन मन्त्रालयमा बजेट तथा विकास योजनाको माग पेश

तनहुँ — म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले संघीय राजधानी काठमाडौंमा आधा दर्जन मन्त्रालय धाएर बजेट तथा विकास योजनाको माग प्रस्तुत गरेको छ। स्थानीय तहको समग्र विकासलाई गति दिने उद्देश्यले तयार पारिएको मागपत्र सम्बन्धित मन्त्रालयहरूमा बुझाइएको हो।
प्रतिनिधिमण्डलमा गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, वडा नं. १ का अध्यक्ष तथा प्रवक्ता मणिभद्र वाग्ले, वडा नं. २ का अध्यक्ष शिवबहादुर रानाभाट, वडा नं. ३ का अध्यक्ष टुकराज अधिकारी, वडा नं. ४ का अध्यक्ष दिपक श्रेष्ठ, वडा नं. ५ का अध्यक्ष शिवबहादुर आले, वडा नं. ७ का अध्यक्ष बसन्त श्रेष्ठ, योजना शाखा प्रमुख श्रीराम खनाल र लेखा अधिकृत शिवजी थापा लगायतको सहभागिता रहेको थियो।
टोलीले अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा स्थानीय पूर्वाधार विकास विभाग मा पुगेर क्षेत्रगत आवश्यकता समेटिएको ज्ञापनपत्र बुझाएको हो।
भेटका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले ले स्थानीय तहबाट आएका विकास प्रस्तावहरूलाई प्राथमिकताका आधारमा अगाडि बढाइने विश्वास दिलाएका थिए। उनले आवश्यक योजना छनोट गरी बजेट व्यवस्थापन गर्ने र दीर्घकालीन रूपमा प्रभाव पार्ने आयोजनाहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए।
गाउँपालिकाले सडक स्तरोन्नति, खानेपानी, सिँचाइ, शिक्षा पूर्वाधार, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक विकाससँग सम्बन्धित विभिन्न योजनाहरू समेटेर मागपत्र तयार पारेको जनाएको छ। ती योजनाहरू कार्यान्वयनमा आएमा म्याग्दे गाउँपालिकाको समग्र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिनिधिमण्डलले सम्बन्धित मन्त्रालयहरूमा प्रत्यक्ष उपस्थित भई स्थानीय आवश्यकता, सम्भावना र चुनौतीबारे जानकारी गराउँदै विकास साझेदारीलाई सुदृढ बनाउन पहल गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । यस्तो प्रकारको समन्वयात्मक प्रयासले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य बढाउने र योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास अधिकारीकाे छ।
म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा आफ्ना प्राथमिकता समेट्न केन्द्रित पहललाई निरन्तरता दिने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page