हामी नेपाली ग्लोबल सेसेल्सले बडादशैं कार्यक्रम हर्षाेल्लासका साथ मनायो

हामी नेपाली ग्लोबल सेसेल्सको आयोजनामा यस वर्ष सेसेल्समा बडादशैं कार्यक्रम हर्षउल्लासका साथ सम्पन्न भएको छ।
रोजगारीका कारण व्यस्त जीवनशैलीका बावजुद पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू उत्साह पूर्वक सहभागी भएर आफ्नै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै बडादशैं पर्व मनाएका हुन् ।

यस वर्ष हामी नेपाली ग्लोबल सेसेल्सले फरक ढङ्गबाट तीनवटै आइल्यान्ड — माहे, प्रास्लिन र लादिक — लाई समेट्दै बडादशैं कार्यक्रम सम्पन्न गरेको हो। कर्मभूमि सेसेल्समा राजनीतिक र चुनावी गतिविधि बीच पनि नेपालीहरूले आफ्ना सांस्कृतिक मूल्य र रीतिथितिहरूलाई जोगाउँदै यस्तो भव्य कार्यक्रम सम्पन्न गर्नु साँच्चिकै उल्लेखनीय विषय हो।

गत २ अक्टोबर २०२५ मा “हामी नेपाली ग्लोबल सेसेल्स प्रास्लिन र लादिक समिति द्वारा संयुक्त दशैं कार्यक्रम बिहान ११ बजेदेखि साँझ ९:३० बजेसम्म टीका–जमरा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त अवसरमा समाजसेवी, सरल र सलिन व्यक्तित्व संस्थाका प्रासलिन सचिव टुल्क प्रसाद लुइटेल (काका) बाट टीका–जमरा लगाउनेहरूको घुइँचो लागेको थियो।
संस्थाका अध्यक्ष दिपेन्द्र कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरिएकाे थियो।
कार्यक्रममा सहभागी नेपालीहरूले संस्थाले यस्ता सांस्कृतिक र सामाजिक कार्यक्रमहरू निरन्तर आयोजना गर्नुपर्ने सुझाव तथा उत्साहजनक प्रतिक्रिया दिएका थिए।

त्यस्तै, माहे आइल्यान्डमा ५ अक्टोबर २०२५ का दिन बडादशैं कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिपेन्द्र कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षबाट टीका–जमरा ग्रहण कार्यक्रम बिहान ११ बजे प्रारम्भ भएको थियो । कार्यक्रमलाई संस्थाका सचिव अइन्द्र विक्रम योङया द्वारा दिउँसो २ बजे सम्म औपचारिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने त्यसपश्चात अनौपचारिक कार्यक्रम भने संस्थाका बोर्ड अफ डाईरेक्टर पदम गुरुङले साँझ ५:३० बजेसम्म सञ्चालन गर्नु भएको थियो। सम्पूर्ण अतिथिहरूलाई संस्थागत डाइरेक्टर हरि तामाङले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा विविध सांस्कृतिक नृत्य, हास्य–मनोरञ्जन तथा खेलकुद गतिविधिहरू समावेश गरिएको थिए। उक्त कार्यक्रममा विदेशी पाहुनाहरूको पनि सहभागिता रहेको र अत्यन्त हौसिएर नेपाली संस्कृतिप्रति चासो देखाएका थिए।
सबेरै देखि संस्थाका सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभचिन्तकहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
राष्ट्रिय पर्वको माहोलले सबैमा उत्साह, उल्लास र एकताको भावना झल्किएको थियो।
सांस्कृतिक कार्यक्रमसँगै खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई स–साना पुरस्कारका साथ सम्मान गरिएको थियो। साथै, नेपाली समुदाय प्रति सकारात्मक सहयोग र सद्भाव प्रकट गर्ने विभिन्न संघ–संस्था तथा कम्पनीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
प्रवासमा रहेर छोटो समयमा नेपाली सांस्कृतिक परम्पराको जगेर्ना गर्दै सबैलाई एकै ठाउँमा ल्याउने प्रयास निरन्तर रहिरहने बताइएको छ ।
हामी नेपाली ग्लोबल सेसेल्स परिवार आगामी दिनहरूमा पनि यस्ता सांस्कृतिक, सामाजिक र एकताको भावना प्रवर्द्धन गर्ने कार्यक्रमहरू निरन्तर सञ्चालन गर्न प्रतिबद्ध रहेको आयाेजकले बताएको छ ।
























