तनहुँ जिल्ला खेलकुदकाे अध्यक्ष एमालेकाे भागमा परेसँगै पाण्डेको सम्भावना बढ्यो
जिल्ला खेलकुद बिकास समिति तनहुँकाे अध्यक्ष एमालेकाे भागमा परेको छ । काङ्ग्रेस – एमाले गठवन्धन सरकारले गरेको गण्डकी प्रदेशका जिल्लाहरूकाे भागबन्डामा तनहुँ एमालेकाे भागमा परेको हाे । तनहुँ सहित नवलपुर , लमजुङ , पर्वत र मुस्ताङ गरि ५ वटा जिल्ला एमालेलाई र कास्की , स्याङ्जा , म्याग्दी , बाग्लुङ , गाेर्खा र मनाङ गरि ६ वटा जिल्ला काङ्ग्रेसको भागमा परेको बताइएको छ । दुबै पार्टीको छलफल बाट यी जिल्लामा सहमति भइसकेको भएपनि कास्कीको बिवादले आधिकारीक निर्णय बाहिर आउन ढिलाइ भइरहेको श्राेतले बतायो ।

यसैबीच तनहुँ एमालेकाे भागमा परेपछि हालका अध्यक्ष अनिल पाण्डेको निरन्तरता बढ्ने सम्भावना देखिएको छ । पाण्डेको ४ वर्षे कार्यकाल यही फागुन ८ गते सकिएसँगै अब काे अध्यक्ष बन्छ भन्ने काैतुहलताका बिच उनको सम्भावना बढेर गएको हाे । यद्यपि पार्टी भित्र पाण्डे सँगै तुल्सी पाण्डे र भिमादका इमान थापाको पनि चर्चा चलेको एक जिल्ला सदस्यले बताए । हालै कार्यकाल सकिएका अध्यक्ष पाण्डे प्रदेशमै चार बर्षमा चारवटा राष्ट्रपति रनिङ शिल्ड गर्न सफल एकमात्र अध्यक्ष हुन् ।

यस्तै आफ्नाे कार्यकालमा कार्यालयलाई सिस्टममा राखेको , प्रदेशमा अपडेट गर्ने गरेको र अब्बल बनाएको उनी निकटले बताएका छन् । पुन अध्यक्ष बनाउन पाण्डेलाई पार्टीका गण्डकी प्रदेशका अध्यक्षकाे दरिलो साथ रहेको एमाले पार्टीका एक जिम्मेवार सदस्यले बताए ।
























