दमौलीमा जारी टाइगर ल्याण्ड महोत्सवमा आज रामजी पाैडेल र पुजा लगायतको प्रस्तुति

दमौली, तनहुँ — व्यास नगरपालिका–४ बाघभञ्ज्याङस्थित सिमलटारमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष दमौली सांस्कृतिक महोत्सव–२०८२/०८३” अन्तर्गत वैशाख ३ गते बिहीबार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति प्रस्तुत गरिएको छ।
कार्यक्रममा लोक तथा दोहोरी गायक रामजी पौडेलले “भुल परे दाइ म त”, “रूमाल धोएर सुकाइदेउ”, “रेलै सलल” लगायत झन्डै एक दर्जन लोकप्रिय गीत प्रस्तुत गर्दै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। उनका ऊर्जा भरिएका प्रस्तुति र दर्शकसँगको घुलमिल शैलीले महोत्सव स्थल निकै उत्साहजनक बनेको थियो।
त्यसैगरी चर्चित गायिका पूजा सिङ्जाली मगर, गायक बल बहादुर घर्ती मगर, सावित्रा हड्खले र सरोज सिग्देलले पनि आ-आफ्ना लोकप्रिय गीतमार्फत सांगीतिक माहोल तताएका थिए। कलाकारहरूको निरन्तर प्रस्तुति र दर्शकको सहभागिताले महोत्सव दिनप्रतिदिन थप आकर्षक बन्दै गएको आयोजक टाइगर ल्याण्ड युवा क्लबका अध्यक्ष विपिन घलेले जानकारी दिए।
नृत्यतर्फ रचना, रेनु र सावित्रीको आकर्षक प्रस्तुति रहेको थियो भने कार्यक्रमको सञ्चालन सर्जन थापा मगरले गरेका थिए। सांस्कृतिक विविधता झल्काउने गीत, संगीत र नृत्यले महोत्सवलाई जीवन्त बनाएको सहभागीहरूले बताएका छन्।
चैत्र २७ गतेदेखि सञ्चालनमा रहेको महोत्सव वैशाख ७ गतेसम्म जारी रहनेछ। महोत्सव अवधिभर दैनिक रूपमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिति रहँदै आएको छ भने आगामी दिनहरूमा अझ चर्चित कलाकारहरूको प्रस्तुति रहने तयारी गरिएको छ।

स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवले दमौली क्षेत्रको चहलपहल बढाउनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुर्याएको आयोजकको विश्वास छ।


























